कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

कञ्चनपुर | कात्तिक १, २०७९

कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

 

 कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताउनुभयो ।


“कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्”, उहाँले भन्नुभयो, “अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।” उहाँले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरबास हुने गरेको बताउनुभयो । “होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्”, उहाँले भन्नुभयो, “अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।”


अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताउनुभयो । “कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्”, उहाँले भन्नुभयो, “पाहुना आउने समय पनि यही हो ।” विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उहाँले बताउनुभयो । 


पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताउनुभयो । “राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।”


घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताउनुभयो । “यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ”, उहाँले भन्नुभयो, “यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।” 


पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा  दुई सय ६६  विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् । त्यसैगरी विसं २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन् । विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ ।  एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् । 


शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताउनुभयो । “शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिङ्गाको झुण्ड पर्यटकको आकर्षण हो”, उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ ।” शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरबासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन् । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्